उहिले बाजेका पालामाः भैरव रिसाल दाइप्रति श्रद्धाञ्जली

-डा. घमराज लुइँटेल

जानेमानेका पुराना पत्रकार भैरव रिसाल अब हामीबीच रहनुभएन । ९७ वर्षको लामो सार्थक जीवन बाँचेर उहाँले आइतबार (२०८१ चैत्र २४) मा महाप्रस्थान गर्नुभयो । भैरव रिसाल पत्रकारहरूका भैरव दाइ हुनुहुन्थ्यो । पछिल्लो समय भैरव दाइसँग भेट नभएको झण्डै वर्ष दिन नै भइसकेको रहेछ । उहाँलाई भेट्न जाने भन्दाभन्दै जुरेन । फोनमा भने कुरा भइरहन्थ्यो । मैले फोन गरिनँ भने उहाँ आफैँले फोन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो–– ‘के छ ? के गर्दै हुनुहुन्छ ? भेट्नुपर्छ है ।’ मैले विद्यावारिधिको अध्ययन गर्दैगर्दा एक दिन दाइले फोन गर्नुभयो र सोध्नुभयो– ‘कहाँ पुग्यो पीएचडी ?’ मैले जवाफ दिएको थिएँ, ‘चल्दैछ दाइ ।’ दाइले भन्नुभयो– छिटो सकाउनुपर्‍यो ।’ मैले त्यस दिन आफ्नै अभिभावकले सम्झाएको जस्तो अनभूत गरेको थिएँ । मैले विद्यावारिधिको उपाधि पाएको खबर सुनाउँदा उहाँले साह्रै हर्षित हुँदै बधाइ दिनुभएको थियो । म सम्झने कोसिस गर्छु, भैरव दाइलाई मैले कहिले भेटेँ ? २०४४ सालको माघदेखि म विराटनगरबाट काठमाडौँ आएर दैनिक समाजमा काम गर्न थालेको थिएँ । मैले डिल्लीबजारस्थित दैनिक समाजको कार्यालयमा २०४६ सालको बैशाखमा उहाँलाई देखेको थिएँ । दैनिक समाजका सम्पादक मणिराज उपाध्यायका छोरा ब्रजेशराज शर्मा (व्यवस्थापक) ले मलाई भैरव दाइसँग चिनजान गराइदिनुभएको थियो । त्यसपछि उहाँसँग नेपाल वातावरण पत्रकार समूहमा बेलाबेलामा भेट हुन्थ्यो । दाइ नमस्कार भन्नासाथै हाँसेर ‘के छ हौ घमराजजी‘ भन्नुहुन्थ्यो । भैरव दाइको सर्टमा दुबैतिर गहिरा र केही फराकिला गोजी हुन्थे । दुबै गोजीमा विभिन्न रंगका कलमसँगै मोटामोटा डायरी (गोजीभन्दा केही अग्ला) हुन्थे । दाइको हँसिलो बोली अनि सबैसँग मिल्ने क्षमता लोभलाग्दो थियो । उहाँसँग गम्भीर विषयलाई पनि हल्का वातावरण बनाएर सल्टाउने क्षमता थियो ।

रेडियो सगरमाथामा भैरव दाइ

नेपाल वातावरण पत्रकार समूहले २०५४ साल जेठ ९ गते रेडियो सगरमाथा सञ्चालन गर्‍यो । २०५४ सालको मंसिरसम्म कालधारा, ठमेल (उपेन्द्र अर्यालको घर) बाट रेडियो प्रसारण भयो । २०५४ सालको दशैँमा बजाउने विशेष सामग्री तयार गर्ने निधो भयो । कार्यक्रम निर्देशक रघु मैनाली हुनुहुन्थ्यो । उहाँको पहलमा भैरव दाइलाई त्यो सामग्रीका लागि कुराकानी गर्ने मूल पण्डित बनाइएको थियो । उहाँसँग अन्तर्वार्ता दिने व्यक्तिमध्ये अंगुरबाबा जोशीसँगै हुनुहुन्थ्यो कविवर माधवप्रसाद घिमिरे ।‘लौ न, केके सोध्नेहोला ए रघु जी, ए घमराजजी?’ उहाँले उसुसुसु (सुसेले जस्तै गर्ने बानी) गर्दै सोध्नुभएको थियो । दाइ, स्वाभाविकै पाराले सोध्नुस् न, भनेर केही आइडिया हामीले दियौँ पनि । नभन्दै कार्यक्रम रेकर्ड भयो । रेडियोले एउटा शैली बनाएको थियो–– जसलाई पनि नामका पछाडि जी लगाएर सम्बोधन गर्ने । भैरव दाइले माधवप्रसाद घिमिरेलाई ‘माधवजी, तपाईको बाल्यकालमा दशैँ कसरी मनाइन्थ्यो भनेर प्रश्न सोध्नुभएको थियो । कविवरले पनि सरल र स्वाभाविक उत्तर दिनुभएको थियो । २०१३–२०१७ सालसम्म हालखबर दैनिकमा काम गरेका र २०२०–२०४२ सालसम्म राष्ट्रिय समाचार समितिमा काम गरेका पाका पत्रकार भैरव रिसाल दाइको यो रेडियो करिअरको सुरुवात थियो । रघु मैनाली स्टेसन म्यानेजर हुनुभएपछि (रेडियो सगरमाथा बखुण्डोल, ललितपुरमा सरिसकेको थियो) २०५६ सालको भदौको दोस्रो सातादेखि भैरव दाइले हरेक मङ्गलबार बिहान १५ मिनेटको एकालाप कार्यक्रम कुरोकन्थो नियमित रूपमा सञ्चालन गर्न थाल्नुभयो । उहाँलाई स्टुडियोमा माइकसँग घुलमिल गराउने र सहज अनुभव गराउने जिम्मेवारीमा म थिएँ । रेडियोमा बोल्न सुरुमा असहज माने पनि केही समयपछिदेखि भैरव दाइले कम सम्पादन गर्नुपर्ने गरी बोल्न थाल्नुभयो । कुरोकन्थोसँगै सँगै रेडियोले ‘उहिले बाजेका पालामा’ कार्यक्रम डिजाइन गर्‌यो । भर्खरै भैरव दाइले ७० वर्ष पार गर्नुभएको थियो । उहाँलाई नै त्यो कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइयो । भैरव दाइ ७० वर्ष कट्नुभएकाले ७० वर्षभन्दा माथिका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग मात्रै कुराकानी गर्ने । भैरव दाइले उहिले बाजेका पालामा कार्यक्रम ८८ वर्षको उमेरसम्म सञ्चालन गर्नुभयो । यसरी १८ वर्षसम्म समाज र राज्यका विभिन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूसँग उनीहरूका गच्छे अनुसारका जानकारी उधिनेर भैरव दाइले यो लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभयो । यो कार्यक्रमको पुस्तक पनि प्रकाशन भएको थियो । रेडियो सगरमाथाको अभिलेख अनुसार, भैरव दाइले यो कार्यक्रमको सञ्चालनको जिम्मेवारीबाट २०७३ साउन १० गते सोमबारदेखि अलग भएपछि त्यही कार्यक्रममा साउन १७ र २४ गते दीपकबाबु अर्यालले भैरव दाइसँगै दुई अङ्क कुराकानी गर्नुभयो । कुरोकन्थो कार्यक्रम भने भैरव दाइले २०८१ साउन २९ गतेसम्म सञ्चालन गर्नुभयो । सुरुका केही वर्ष स्टुडियोमै आएर रेकर्ड गरे पनि पछि भैरव दाइले कुरोकन्थो टेलिफोनबाटै प्रत्यक्ष सञ्चालन गर्ने गर्नुहुन्थ्यो । पछिल्लो समयमा उहाँको बोली लटपटिन थालेको थियो । रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वसी बस्न्यातका अनुसार, भैरव दाइले प्रत्यक्ष सञ्चालन गर्ने कुराकन्थो कार्यक्रममा असहजताका कारण खोकी लाग्दा तीन मिनेटसम्म कार्यक्रममा बाधा पुगेको थियो । आफ्नो २०८१ को जन्म दिनदेखि उहाँले सो कार्यक्रमबाट बिदा लिनुभयो । भैरव दाइलाई सुन्ने व्यक्तिहरूको सङ्या निकै ठूलो थियो । २०५६ सालको अन्त्यतिर रेडियो सगरमाथाले २०५४ सालको भदौदेखि प्रसारण भएको दैनिक रेडियो पत्रिका हाम्रो खाल्डो (रेडियो सगरमाथाको पहिलो तथा निकै लोकप्रिय कार्यक्रम) हाम्रो खाल्डोलाई रेडियो सिक्वेन्समा परिणत ग¥यो । हाम्रो खाल्डो रेडियो कार्यक्रमका अवधारणाकार रघु मैनाली हुनुहुन्थ्यो भने त्यसको उत्पादनमा म, जीतेन्द्र राउत र मधु आचार्य थियौँ । सुरुका केही समय रघु मैनालीले त्यो कार्यक्रमको सम्पादन गर्नुभयो भने केही समयपछि त्यसको जिम्मेवारी ममा आयो । त्यो कार्यक्रममा जोडिन संगीता महरट्टा र दुर्गा कार्की पनि केही पछि आइपुग्नुभयो । २०५६ सालको फागुन ७ प्रजातन्त्र दिवसका दिनदेखि हाम्रो खाल्डो रेडियो सिक्वेन्समा परिणत भयो । सात दिनलाई पालैपालो गरी नेतृत्वदायी भूमिकामा हाम्रो खाल्डोको कोर टिम रह्यो भने भैरव दाइ र चट्याङ मास्टरलाई पनि प्रत्यक्ष प्रसारण हुने त्यो लामो कार्यक्रममा पालैपालो राखियो । प्रसिद्ध हास्यव्यंग्यकार चट्याङ मास्टर र भैरव रिसालको रेडियो प्रवेश एकै समयमा भएको थियो । तीन घण्टा लामो रेडियो सिक्वेन्स बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन्थ्यो । यो पनि निकै लोकप्रिय कार्यक्रम थियो ।

व्यक्ति एकः अभियान अनेक

भैरव दाइ सरल र कामप्रति इमान्दार हुनुहुन्थ्यो । उहाँ राससको जागीर छोडेपछि नेपाल वातावरण पत्रकार समूहमा सक्रिय हुनुभयो । समूहको दोस्रो अध्यक्षको जिम्मेवारी बहन गर्नुभयो । भैरव दाइलाई समूह वा अन्य कतै कुनै पदको लोभ थिएन । हुटहुटी थियो त केबल अभियानमुखी कामहरूको । भैरव दाइले हुम्लामा उज्यालो, बुहारी पढाउँ, यौटाले यौटालाई जस्ता कैयन अभियान सञ्चालन गर्नुभएको थियो । कुनै पुरस्कार पाएमा त्यसको रकम त्यस्तै अभियानमा खर्चिनुहुन्थ्यो । मैले रेडियो सगरमाथामा एकताका सञ्चालन गरेको सञ्चार तथा साहित्य डबलीमा भैरव दाइसँग अन्तर्वार्ता लिने मौका पाएको थिएँ । उहाँले मसँग आफूले भक्तपुरको काँठबाट संस्कृतमा शास्त्री उत्तीर्ण गरेको र स्नातक सरहको मान्यताका लागि संघर्ष गरेको बताउनुभएको थियो । उहाँ तीनधारा संस्कृत पाठशालामा पढ्दादेखि नै कम्युनिष्ट विचारधारमा बाँधिनुभएको रहेछ । संस्कृत पढेको भक्तपुर, दधिकोटको काँठे बाहुन भएका कारण लोकसेवामार्फत् अधिकृत तहमा उत्तीर्ण भए पनि आफूले जागीर नपाएको कुरा म, रघु मैनाली र ब्रजेश शर्मासँगको कुराकानीमा २०७३ साल माघ २८ गते उहाँकै निवासमा बताउनुभएको थियो, जुन हामीले नै सम्पादन गरेको पुस्तक पत्रकारिताको सतिसाल (शर्मा र अरु, २०७४, पृ. १०६) मा उल्लेख छ । राजनीतिमा लाग्न खोज्दाखोज्दै भक्तपुर कटुन्जे निवासी पूर्णप्रसाद ब्राह्मणको सिफारिशको एउटा चिर्कटाले संवत् २०१३ सालमा उहाँलाई हालखबर दैनिक मा पु¥याएको रहेछ । लेख्न नजान्ने पिताजीले लगन, टिप्पणी लेख्न छोरो जान्ने बनोस् भनेर मोहर पाइने लोभले पढाएको ठिटो भैरव रिसालले लगन, कुण्डली त लेख्नुभएन तर सार्वजनिक पद धारण गरेका धेरैको कुण्डली र चिट्ठा चाहिँ पत्रकारिता मार्फत् खोल्नुभयो । मसँगको अन्तर्वातामा उहाँले सुनाएका बडो रमाइला किस्साहरू छन् । तीमध्ये एउटा यस्तो किस्सा रहेछ–– हालखबरमा भर्खरै जागीर खान थालेको । के समाचार हो, के हैन, जानिसकेको पनि थिएन । एउटा नयाँ साइकल दिएको रहेछ हालखबरले । साइकल लिएर भैरव रिसाल चारखाल अड्डा जानुभएछ । एक जना हाकिमले लौ यहाँ सरकारी कर्मचारीले अहिले कार्यालय समयमा खसी काटेर भाग लगाइ खाए भनेर खबर दिएछ । केटौले भैरव दाइले त्यो समाचार बनाएर हालखबरमा छापिदिनुभएछ । प्रधानमन्त्री हुुनुहुँदोरहेछ टंकप्रसाद आचार्य । प्रधानमन्त्री आचार्यले सातो टिप्नुभएछ–– ‘यस्तो पनि काहीँ खबर हुन्छ ?’ उहाँको यो कुरा उहाँ र घनानाथ ओझाको पुस्तक त्यतिबेलाको पत्रकारितामा समेत समेटिएको छ ।

अंग्रेजी नजानेरै पनि अंग्रेजी भाषणको समाचार

अर्को यौटा प्रसंग छ मैले लिएको अन्तर्वार्तामा भन्नुभएको–– संवत् २०२४ बैशाख १० गते संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त नेपालको भ्रमणमा आएका थिए । भैरव रिसालको जागीर राससमा थियो । उहाँ समाचार संकलनका लागि त्रिभुवन विमानस्थलमा खटिनुभयो । ऊ थान्तले पत्रकारहरूमाझ विमानस्थलमा यौटा मन्तव्य बाचन गरे । त्यो अंग्रेजीमा थियो । भैरव दाइ संस्कृत पढेको मान्छे । अंग्रेजी नआउने । त्यसबेला अहिले जस्तो रेकर्डरको सुविधा कहाँ हुनु ? पत्रकारलाई समाचार संकलन गर्न पनि सजिलो थिएन । यस्तो अवस्थामा उहाँ विष्मयमा पर्नुभयो–– अंग्रेजीको भाषणबाट कसरी समाचार बनाउने? के गरी उ थान्तको समाचार संकलन गर्ने ? यसैबीचमा ऊ थान्तले कम गतिमा अंग्रेजीमा दिएको वक्तव्यको समाचार टिप्ने यौटा जुक्ति भैरव दाइलाई तत्कालै फुर्‍यो–– उनको अंग्रेजी लवजलाई नेपालीमा सकेसम्म नछुटाई टिप्ने । धिमा गतिको त्यो मन्तव्यको धेरै भाग उहाँले नेपाली लवजमा टिप्नुभयो । अनि कार्यालय पुगेर अंग्रेजी सेक्सनमा दिएपछि तानतुन मिलाएर समाचार बन्यो । भाषा नजाने पनि काम अड्केन । ‘यस्तो चतुर‍्याइँ गर्न जान्नुपर्छ पत्रकारले’, उहाँले भन्नुभएको थियो ।

हाकिमदेखि प्रधानमन्त्रीसम्मका हप्कीदप्की

त्यसो त राससमा काम गर्दा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका हप्कीदप्की खानुपरेका कैयन विवरण उहाँले त्यतिबेलाको पत्रकारिता नामको पुस्तकमा समेट्नुभएको छ । कार्यक्रम स्थलबाट प्रधानमन्त्रीले भाषण गरेर गइसकेपछि पुराना फाइल हेरेर जोडजाड गरी समाचार बनाएका प्रसंगदेखि भैरवले त समाचार नोट नै गरेन त भन्नेसम्मका खप्की सहनुपरेका प्रसंग छ्यालब्याल प्रकाशनमा समेत छन् । पञ्चायतकालका प्रधानमन्त्रीहरू र मन्त्रीहरूले एकथोक भाषण गर्ने र छापिएपछि त्यसो भनेकै थिएन भनेर हप्कीदप्की गरेका तीता प्रसंग पनि उहाँले व्यक्त गर्नुभएको छ ।

दरबार दाहिना नभएपछि

करीब २२ वर्ष राससमा काम गरेका भैरव रिसालले आफ्नो काम राजा र दरबारलाई मन नपरेकै कारण आफूले कुनै पदक नपाएको गुनासो राससको प्रकाशन रासस दिग्दर्शन (२०६६, पृ. १२७) मा गर्नुभएको छ । जति नै राम्रो काम गरे पनि दरबार दाहिना नभएपछि पदक, पुरस्कार पाउने पनि कुरा त्यसबेला सम्भव थिएन ।

छापादेखि प्रसारण माध्यमसम्म

विक्रम संवत् १९८५ मा जन्मेका भैरव दाइले जिल्लामा समाचारदाता नभएको, टेलिफोनको सट्टा आवा (आकाशवाणी वा टेलिग्राफ) गर्नुपर्ने तथा समाचार खोज्न व्यक्तिव्यक्ति र अड्डा अड्डा चाहरेर समाचार बनाउनुपर्ने युगमा पत्रकारिता थाल्नुभएको थियो । रू. १००।– को मासिक पारिश्रमिकबाट पत्रकारिता थालेका भैरव दाइले समाचार केही छ कि भनेर सचिवकहाँ जाँदा राससका आफ्ना सहकर्मीलाई आफ्नो घरमा गाई व्याएको छ नि भनेर उल्याएका अनुभव सँगाल्नुभएको थियो । उहाँले छापा माध्यमको लामो अनुभवपछि रेडियोमा काम गर्नुभयो । उहाँले केही समय चट्याङमास्टरसँगै टेलिभिजनको विहानी शो कार्यक्रम समेत चलाउनुभयो । साधुलाई सुलीभैरव दाइले मसँगको रेडियो अन्तर्वार्तामा रासस छोडेपछि २०४३ साल असोज ६ गते ‘एशियाली मापदण्डः मन्त्रिमण्डलको ठगीखाने भाँडो’ शीर्षकको आफ्नो विचारोत्तेजक लेख राजधानी पत्रिकामा छापिएपछि त्यसका प्रकाशक आङदोर्जे लामासँगै आफूलाई राजकाज मुद्दामा पञ्चायतले एक वर्ष जेल हालेको र साधुलाई सुली नामबाट जेल डायरी तयार गरेको बताउनुभएको थियो जुन प्रकाशित पनि भएको थियो ।

राजनीतिमा विफलः पत्रकारिता र लेखनीमा अब्बल

भैरव दाइ केही समय नेपाल मजदूर पार्टीसँग पनि आवद्ध हुनुभयो र २०४८ सालको आमनिर्वाचनमा भक्तपुरको क्षेत्र नंबर २ बाट सांसद पदका लागि लड्नुभयो अनि सक्रिय राजनीतिमा ब्रेक लाग्यो । यसैसँग सम्बन्धित यौटा रोचक प्रसंग पनि छ–– २०५५ सालमा म रेडियो सगरमाथाका हाम्रो खाल्डो कार्यक्रमका लागि प्रोफाइल बनाउन राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास लैनचौर पुगेँ । कविवर नमज्जाले पड्किनुभयो–– ‘‘मलाई ‘जी’ भन्ने, माधवजी भन्ने ? त्यो बिजुक्छेको कार्यकर्ता भैरवले मलाई जी भन्ने ?’’ म त अक्क न बक्क परेँ । कुरो कोट्याएर प्रष्ट हुँदै गएको त २०५४ सालको दशैँमा भैरव दाइले कविवरसँग अन्तर्वार्ता लिँदा माधवजी भनेर सम्बोधन गरेको इख पो लिइराख्नुभएको रहेछ । उहाँलाई मैले सम्झाएँ–– तपाई जस्तो यत्रो मान सम्मान पाएको कविवरले यस्ता सानामसिना कुराको ईख लिनु हुन्छ र ? तपाई त गंगा जस्तो पो हुनुपर्छ, गंगामा जति फोहोर थुपारे पनि निर्मल नदी नै मानिएको छ । त्यो त रेडियोको शैलीका कारण पो उहाँले त्यसरी सम्बोधन गर्नुभएको हो त !’’ मैले त्यसो भनेपछि खै के छाप प¥यो कविवरमा उहाँ हाँस्नुभयो र भन्नुभयो, ‘तपाईले मेरो मन जित्नुभयो, लुइँटेल त मेरा मावली पो हुन् त । म तपाईलाई अन्तर्वार्ता दिन्छु र भैरवजीसँग पनि अब मेरो केही छैन ।’’

दानवीर भैरवको पूजा नै कर्म

भैरव दाइबारे यो छोटो अनुभवमा सबै कुरा समेटिन सम्भव छैन । मार्क पोष्टर (१९९५) ले द सेकेण्ड मिडिया एज पुस्तकमा गरेको परिभाषालाई सापटी लिएर भन्नुपर्दा पहिलो युगको पत्रकारिता गरेर दोस्रो युगको पत्रकारिताका साक्षी बनेका भैरव दाइलाई जोसुकैले जेसुकै भने पनि कुनै गुनासो पनि थिएन र कुनै कुरा मनमा लिएर बस्ने फुर्सद् पनि थिएन । सर्वजन हिताय र सर्वजन सुखायको भावनाबाट प्रेरित भैरव दाइ कर्ममा विश्वास गर्नुहुन्थ्यो र पत्रकारिताको शाख जोगाउनुपर्छ है भनेर नयाँ पुस्तालई हौसला दिनुहुन्थ्यो । उहाँका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ’उहिलेको नेपाल (अनूभव संग्रह) लगायतका पुस्तक प्रकाशित छन् । उहाँले गएको साउन २६ गते मात्रै आफ्नो ९७ औँ जन्मदिनका अवसरमा तीनवटा कृति सार्वजनिक गर्नुभएको थियो ।भैरव दाइले शरीरले साथ दिएसम्म इमान्दारीका साथ काम गरिरहनुपर्छ र आफ्नो पेशाबाट अवकाश लिनुहुन्न भन्ने उदाहरण कतै कक्षामा पढाउनु भएन, आफ्नै सार्थक कर्मले देखाउनुभयो । जीवन हुँदा मात्रै नभई जीवनपछिको शेष शरीर समेत मानव कल्याणमा काम लागोस् भनेर आफ्नो शरीर समेत अस्पताललाई दान गर्नुभयो । पत्रकारिता क्षेत्रमा मात्रै हैन, सामाजिक सेवा र सामाजिक सुधारका क्षेत्रमा समेत एक अब्बल असल उदाहरण र प्रेरक व्यक्तित्व भैरव दाइप्रति श्रद्धान्जली !

(रेडियो सगरमाथाका संस्थापक एवं हाल सञ्चालक समितिका अध्यक्ष डा. लुइँटेल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयका उप–प्राध्यापक हुनहुन्छ ।)

Now on

Radio Sagarmatha Live

24hrs Online

Featured image